डियर बिपिन !

Krishna Paksha ThapaKrishna Paksha ThapaWarBlogMarch 10, 20244.1K Views

यो कविता मोहित जोशीले पोएट आइडलमा प्रस्तुत गरेका हुन् .. निकै मर्मस्पर्शी लागेर साभार गरेको हुँ । कवितामा भनिए अनुसार विपिन जोशी र कवि मोहित जोशी बाल्यकालदेखि  सँगै खेल्ने साथी थिए । ती दुई साथीहरू मोहित जोशीले इन्जिनियरिङ पढे भने विपिनले कृषि ।

कृषि अध्ययनकै क्रममा इण्टर्नशिपको सिलसिलामा विपिन इजरायल गएका थिए तर विडम्बना एक महिना नपुग्दै आतङ्कवादी सङ्गठन हमासको आक्रमणमा परे ।  त्यस घटनामा १० नेपालीको निर्ममतापूर्वक हत्या गरियो । उनलाई भने बन्धक बनाएर प्यालेस्टिनी अधीनस्थ गाजा पुर्‍याए , आजसम्म उनको अत्तोपत्तो छैन । विपिन जोशीसँगको सम्झनालाई उनले कवितामा मार्मिक शब्दहरुद्वारा बयान गरेका छन् ।

हेर्नुहोस

 

हरियो मोजाको बल
रुखको हाँगाको विकेट
र दशैँको दक्षिणा जोगाएर
किनेको भिक्सेनको ब्याट –
गल्लीमा नानीहरू क्रिकेट खेलिरहेछन् ।
ब्याट्सम्यानले ब्याटिङ गरेपछि
अचानक बल मेरो मुख निरै आयो ।

म स्तब्ध भए
कि सायद मेरो मुख निर ग्रिनेड आइरहेथ्यो ।
कुनै समय म क्रिकेट खेलेको हेर्थे मात्र ।
तैँले नै थिइस् हिम्मत दिएको—
‘आइज तुइलै खेल्ल ।
गीरले लाग्ज्ञा झिक्कै भए एक दिन त दुःखोलो ‘
त्यसपछि हो म डरसँग हार्न छोडेको ।
(गीर = भकुन्डो; डोटेली भाषामा)
यार तैँले क्या खत्रा थ्रो गर्थिस् बल !
अर्काको घरमा गएको बल
ल्याउन तँ मात्रै हिम्मत गर्थिस् ।
सिधै फालिदिन्थिस् बलरको हातैमा ।
पक्कै त्यसरी नै फालेको हुनुपर्छ
बङ्करमै पसेको ग्रिनेड तैँले ।

त्यो बेला साँझ हाम्रै लागि पर्थ्यो ।
हामी निकाली हाल्थ्यौ साइकल,
बेफिक्री पेडल मार्थ्यौ दोधारा चाँदनी पुल तिर ।
साँझ पनि ढिला रात परिदिन्थ्यो ।
छुट्टीको दिन
घाम हाम्रै लागि चर्किन्थ्यो ।
लोकेन्द्र, चक्र, त, म
नुहाउन गई हाल्थ्यौ रौतेला खोला तिर ।
पैसा कमाउन विदेश जान्छु भन्दा
तैँ थिस् रोक्ने–
‘कै न कै गर्न सकिने हो,
आकाशले पानी पाड्डे सोचेपाछा
कसैले रोकेर रोकिने नाइँ,
क्याई जान् पड्यो अर्काSS देशS’
र हामीले यै कृषि गर्ने सोच्यौँ ।
मैले सिँचाइ सिक्न इन्जिनियरिङ पढेँ ।
तैँले कृषि पढिस् ।
विज्ञ बनेर फर्किन त इजरायल पुगिस्,
जाँदा तैँले भनेको कुरा अझै आलै छ –
‘खेत गाडा तयार पारिराख्या,
छिट्टै बिउ रोप्द आउने हूँ !’
विपिन यार,
हम्रा खेत तयारै छन्, बाँझै छन्,
खेतमा तिनपातेका कोपिलाहरूले
आफ्नो पत्रहरूमा
लुकाउने गरेका छन् बिहानी शीतका थोपाहरू ।
तुई मात्तरी गायब छै यार दोस्त ।
बङ्कर मै पसेको ग्रिनेड
तैँले बाहिर फ्याँकेर
कति मुटु भित्र धड्किरहेको देश जोगाइस् दोस्त !
मिडियामा देखाउन बाहेक
देशले तँलाई जोगाउन सायदै केही गर्‍यो ।
खुब याद आउँदै छ यार दोस्त तेरो ।
यार तँलाई खोज्न
काँ काँ गुहारी सके
पालिकासँग गुहारे
सरकारसँग गुहारे
यु एन सँग गुहारे
गुहारले नपुग्न थालेपछि
आफै चिच्याई रहेछु ‘सिजफायर’
प्रयास गरिरहेछु तेरो लागि यसरी चिच्याउन
की फैलियोस् चिच्याहट र त्यसको गुञ्जले
ढाकिदियोस् संसारका सबै हतियारको आवाज ।
…..
विपिन यार,
तँ नभेटिँदै जाँदा,
देश पनि हराउँदै गएको छ !

Exclusive badge KanxeY Tales

If you love Nepali ART and STORIES चित्र र कथाहरु ..

Visit us at Kanxey Tales


Advertisement

Krishna Paksha Thapa (KANXEY) is an art lover, illustrator, and storyteller from Nepal (Now in Israel). An independent creator who loves to write and paint, he brings stories to life through sketches, words, and visual expression.

KANXEY TALES
Web Design Advertisement
Search
XO-XO
Loading

Signing-in 3 seconds...

Signing-up 3 seconds...